द न्यूज होम
जनकपुरधाम, असार ९ गते । शहीदनगर नगरपालिकाको १३ औं नगरसभा उपमेयर सुनिता सिंहसहित चार जना वडा अध्यक्षहरू र सदस्यहरूले बहिष्कार गरेका छन् । नगरसभाको शुरुवातमै उनीहरूले बैठकबाट बाहिरिने निर्णय गरेका हुन् ।

उपप्रमुख सिंहले नगरसभाबाट बहिष्कार गर्नुको कारण मेयर दिनेश प्रसाद यादवको एकल निर्णय, पारदर्शिता अभाव र वडाहरूमा बजेट नदिइएको भन्दै गम्भीर आरोप लगाइन् । उनले भनिन्, “पुराना बजेट कहाँ र कति खर्च भयो भन्ने हिसाब माग्दा जवाफ नआएको र चालू आर्थिक वर्षको बजेट कति भन्ने जवाफ माग्दा मेयरले अस्वीकार गर्नुभयो, त्यसैले हामी बाध्य भएर नगरसभा बहिष्कार गरेका हौं ।”

उपप्रमुख सिंहले मेयर यादवमाथि प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर रेडबुक कब्जामा राखेको, डोजर, टिपर र टेक्टरजस्ता नगरपालिकाका सम्पत्ति आफ्नो घरमा राखेको, नगर अस्पतालमा समयमा औषधी नपु¥याएको, र शिक्षामा समेत मनोमानी गरेको आरोप लगाइन् ।

उनले थप आरोप लगाउँदै भनिन्, “नगरपालिकाको सूचना माग्दा अधिकांश विवरण दिइएन, मेयर र हाकिमले मिलेर मनोमानी गरेका छन् । एम्बुलेन्स निजी सम्पत्ति जस्तै प्रयोग गरिएको छ ।” उपप्रमुख सिंहका अनुसार, सोमबारको नगरसभा बहिष्कारमा चारजना वडा अध्यक्ष र केही सदस्यहरू समेत साथमा रहेको छ ।

उनले वैशाख ७ गते गरिएको निर्णयमा जबरजस्ती हस्ताक्षर गराउन खोजिएको आरोप लगाउँदै भनिन्, “मैले हस्ताक्षर गर्न नमानेपछि नगरसभामा दबाबका माध्यमबाट पास गराउन खोजिएको छ, जुन अस्वीकार्य हो ।”