द न्यूज होम
जनकपुरधाम,असार १० गते । महोत्तरीको सोनमा गाउँपालिकामा विगतका आर्थिक वर्षहरूमा भएका विभिन्न आर्थिक अनियमितता र आगामी वर्षको नीति तथा कार्यक्रम कानुनविपरीत ल्याउन खोजिएको भन्दै छानवीन समिति गठन गर्न गाउँपालिकाका कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले आर्थिक वर्ष २०७९÷०८० र ०८०÷०८१ मा खाजा, इन्धन, कर्मचारी नियुक्ति, चालु खर्च, बेरुजु, पेस्की, घरभाडा, गाडीभाडा, जिन्सी शाखा लगायतका शीर्षकमार्फत करोडौं रुपैयाँको अनियमितता भएको आशंका गरेका छन् । यस्ता गम्भीर आर्थिक अपचलनहरूका विषयमा छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “स्थानिय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वडा भेला, योजना छनोट, कार्यसमिति र विभिन्न सरोकारवाला समितिको बैठकको प्रक्रिया नअपनाई आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम ल्याउने तयारी भएको छ, जुन कानुनविपरीत छ । त्यसैले उक्त नीति कार्यक्रम तत्काल रोकी कानुनी प्रक्रिया पु¥याएर मात्रै अगाडि बढाउनुपर्छ ।”

कार्यपालिका सदस्यहरूले विगतका तीन आर्थिक वर्ष—२०७९÷०८०, ०८०÷०८१ र ०८१÷०८२ को ‘रेडबुक’ सार्वजनिक गर्न, सार्वजनिक सुनुवाई गर्न, खर्च विवरण जनसमक्ष ल्याउन र लेखापरीक्षण प्रतिवेदन अनुसार असुल–उपर गरिनुपर्ने रकम तुरुन्त फिर्ता गर्न पनि माग गरेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि, वडाध्यक्ष, सदस्य तथा नागरिकको सहभागिता नलिई गुपचुप ढंगबाट योजना छनोट र बजेट विनियोजन गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने भन्दै उनीहरूले छानबिन समितिका लागि गाउँसभा वा प्रदेश÷संघीय निकायसँग समेत अनुरोध गर्ने चेतावनी दिएका छन् ।