द न्यूज होम
जनकपुरधाम,असार १३ गते । मधेश प्रदेशमा सुरक्षित र स्वच्छ खानेपानी पहुँच विस्तार गर्ने उद्देश्यसहित ‘स्वच्छ पानी अभियान’को उद्घाटन तथा हस्तान्तरण कार्यक्रम जनकपुरधाम–०८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय र वडा नं. ११ को दलित समुदायमा सम्पन्न गरिएको छ ।

नेपालस्थित चिनियाँ दूतावास, युथ पायोनियर्स तथा सीएफआरडी नेपाल अफिसको सहकार्यमा सञ्चालित यो परियोजना मधेश प्रदेशको स्वास्थ्य तथा स्वच्छता प्रवर्धनमा केन्द्रित दीर्घकालीन मानवीय प्रयासको रुपमा अघि सारिएको हो ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री सरोज यादवले मधेशी समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने यस्ता मानवीय परियोजनाको सधै स्वागत गरिने बताए । उनले भने, “स्वच्छ पानीजस्तो आधारभूत अधिकारलाई सुनिश्चित गर्न चिनियाँ दूतावासको पहल प्रेरणादायी छ ।”

डा. विजय दत्तले भने, “चिनियाँ दूतावासले समुदायसम्म पुगेर प्रत्यक्ष सेवा प्रवाह गरिरहेको छ, जुन अत्यन्तै सराहनीय छ। हामी यो अभियान निरन्तरताका साथ विस्तार होस् भन्ने चाहन्छौं ।”
परियोजनाका प्रमुख ई. शिवाङ्ग दत्तले यो परियोजना सुरुवात मात्र भएको उल्लेख गर्दै चिनियाँ दूतावासले ग्रामीण क्षेत्रसम्म अभियान विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिए । “हाम्रो उद्देश्य विकास मात्र होइन, जीवन परिवर्तन हो,” उनले भने ।
यसअघि पनि चिनियाँ दूतावासले मधेशमा ‘उज्यालो भविष्य शिक्षा अभियान’ र ‘आरामदायी बर्थिङ अभियान’ सञ्चालन गरिसकेको छ ।

स्वच्छ पानी अभियानले विशेषगरी दलित तथा पिछडिएको समुदायलाई लक्षित गरी सुरक्षित पानीको पहुँच विस्तार गर्न मद्दत पु–याउने छ । यसले मधेश प्रदेशमा दीर्घकालीन स्वास्थ्य सुधार, बालबालिकामा रोगको न्यूनीकरण, र स्वच्छता चेतनाको विस्तारमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला मन्त्री, योजना आयोगकी सदस्य ललिता यादव, चिनियाँ दूतावासका उपप्रमुख श्री वाङ सिन, राजनीतिक मामिला निर्देशक यु पेंगचेंग, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मानव अधिकारकर्मी, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।