द न्यूज होम
जनकपुरधाम,असार १५ गते । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेमाथि गम्भीर आरोप लगाउँदै तत्काल छानबिनको माग गरेका छन् । यादवले घिमिरेको कार्यक्षमतामाथि प्रश्न उठाउँदै अबको मुद्दा र आन्दोलन उनीमाथिकै केन्द्रित हुने स्पष्ट पारेका छन् ।

संयोजक यादवले भने, “दुई वर्षको अवधिमा वन मन्त्रालयले के–के ग¥यो? कति वन मासियो? कति चुरे क्षेत्र दोहन भयो? कर्मचारीमाथि कति शोषण भयो? वितरण गरिएको विरुवा अहिले कहाँ छ? योजनाहरू संशोधन गरेर कसरी लुटिएको छ? यी सबै प्रश्नको उत्तर दिनुपर्नेछ ।”

उनले सचिव घिमिरेमाथि जनताको सम्पत्ति हुने काठ, नदी, बालुवा ठेक्काका क्रममा सस्तो मूल्यमा बेचेर जनतालाई धोका दिएको आरोपसमेत लगाएका छन् । “पीसी उठाएर, भ्रष्ट कर्मचारीहरूलाई संरक्षण गरेर, योजनाको नाममा संसोधन र लुटतन्त्रलाई निरन्तरता दिइएको छ,” यादवले भने ।

यादवले रौतहट जिल्लामा भएको वन विनाश, काठ चोरी र अतिक्रमण प्रकरणमा सचिव घिमिरेले चुप्पी साधेकोप्रति आपत्ति जनाएका छन् । “प्रदेश सरकारबाट छानबिन समिति खटाइएर प्रतिवेदनसमेत बुझाइसकिएको छ, तर सचिवले त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेका छैनन्,” उनले बताए ।

उनले आरोप लगाए, “प्रतिवेदन सार्वजनिक नगरेर सचिवले आफ्नै असफलता ढाकछोप गर्ने र अतिक्रमणकारी तथा भ्रष्टहरूलाई जोगाउने काम गरेका छन् । यसले उनी भ्रष्टाचारका संरक्षक भएको प्रमाणित गरेको छ ।”

यादवले प्रदेश सरकारसँग सचिव घिमिरेमाथि तत्काल कडा छानबिन गर्न माग गरेका छन् । “यदि सरकार गम्भीर छैन भने हामी चुप बस्दैनौं, चुरे र वनजंगलको रक्षाका लागि आन्दोलन अब सचिव उद्धव घिमिरे विरुद्ध हुनेछ,” उनले चेतावनी दिए ।