द न्यूज होम
जनकपुरधाम, असार १५ गते । प्रसिद्ध जैसीको शानदार शतक र कप्तान बिपिन प्रसाद शर्माको घातक बलिङ प्रदर्शनको मद्दतले नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० रनको विशाल जित हात पारेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको विशाल योगफल तयार ग¥यो, जुन उमेर समूहदेखि सिनियर टोलीसम्मको ५० ओभरको फम्र्याटमा नेपालको अहिलेसम्मकै उच्च स्कोर हो ।

नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया २४.३ ओभरमै ५० रनमा समेटियो । इन्डोनेसियाका कविन नीरजले १५ र दिवित नन्दाले १४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङतर्फ कप्तान बिपिन प्रसाद शर्माले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले एक–एक विकेट लिए ।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले ११४ बलमा १३२ रनको शतकीय पारी खेले, जसमा १५ चौका र १ छक्का समावेश थियो । अर्का ओपनर परिमार्जन यादवले २८ बलमै ७१ रनको विस्फोटक पारी खेले, जसमा उनले ४ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै, रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए भने जोय थापाले ४१ बलमा ५७ रनको योगदान दिए । जैसी र यादवले पहिलो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए। दोस्रो विकेट १५१ रनमा खसेपछि, जैसी र रौनकले तेस्रो विकेटका लागि १४८ रनको साझेदारी गरे ।

इन्डोनेसियाका बलरमध्ये केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले एक–एक विकेट हात पारे । समूह ‘ए’ मा रहेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो ।

नेपालसँगै ६ अंक जोडेको सिंगापुरले भने एक खेल बढी खेलेको छ (४ खेलमा ३ जित)। जापान र इन्डोनेसियासँग २–२ अंक रहेका छन् भने भुटान अझै अंकविहीन छ । नेपालले अब आफ्नो समूह चरणको अन्तिम खेल भुटानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् ।