द न्यूज होम
जनकपुरधाम,असार १५ गते । “राष्ट्रीय धान दिवस“ को अवसरमा लोकतान्त्रिक युवा संघले काठमाडौंको बबरमहलस्थित लोसपा नेपाल पार्टी कार्यालयमा दही–चिउरा खुवाइ कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा लोकतान्त्रिक युवा संघको उपत्यका सदस्यमा हालै मनोनीत भएका संदेश सुवेदी, सुस्मा सुवेदी र सुरज तिमल्सिनालाई औपचारिकरूपमा स्वागत गरिएको थियो । उनीहरूलाई टिका लगाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रमले कृषि, परम्परा र समावेशी सहभागितालाई जोड दिएको आयोजकले बताएका छन् । युवा नेतृत्वले राष्ट्रिय धान दिवस जस्ता मौलिक पर्वहरूलाई केवल उत्सवका रूपमा मात्र नभई उत्पादन, समर्पण र राष्ट्रिय एकताको माध्यमका रूपमा हेर्नुपर्ने धारणा पनि राखिएको थियो ।

कार्यक्रममा उपस्थितहरुले धान दिवसको अवसरमा दही चिउरा खाएर दिवस मनाएका थिए । कार्यक्रममा लोसपा नेपालका उपाध्यक्ष एवं प्रवक्ता डा. आभास लाभ, महासचिव डा. सुरेन्द्र झा, महासचिव तथा प्रवक्ता मनिष मिश्र, सहमहासचिव राजेन्द्र साह, केन्द्रीय सदस्य नगेन्द्र झा, लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामरेन्द्र वर्मा, लोकतान्त्रिक युवा संघका अध्यक्ष सुजन यादव, सचिव शैलेन्द्र ठाकुर लगायत युवा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।