द न्यूज होम
सिरहा, असार १६ गते । यस वर्ष सिरहा जिल्लामा आँप उत्पादनमा उल्लेखनीय गिरावट आएको छ। कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा जम्मा ५९ हजार ८६६.५ मेट्रिक टन आँप मात्र उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशतले घटेको हो ।

गत वर्ष ९ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार २३५ मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ९ हजार २५ हेक्टर क्षेत्रफलमध्ये ८ हजार ८९५ हेक्टर मात्र उत्पादनयोग्य रहन सक्यो । यस वर्ष प्रति हेक्टर उत्पादन ६.६३ मेट्रिक टनमा सीमित रहँदा अघिल्लो वर्ष सो दर ११.०२ मेट्रिक टन रहेको थियो ।

कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार उत्पादनमा गिरावट आउनुको मुख्य कारण प्राकृतिक चक्र हो, जसअनुसार एक वर्ष बढी फल लाग्ने र अर्को वर्ष कम हुने गर्दछ। साथै, सिँचाइको अभाव, कीराको प्रकोप, र समयमा रोग नियन्त्रणका औषधि प्रयोग नहुनु पनि प्रमुख कारण हुन् ।

उत्पादन घटेसँगै स्थानीय बजारमा आँपको आपूर्ति घटेको छ, जसले मूल्यमा सामान्य वृद्धि गराएको छ। फलस्वरूप, लगानीअनुसार प्रतिफल नपाउँदा धेरै किसान निराश बनेका छन् । सिरहा आँप उत्पादनका लागि प्रदेश २ कै प्रमुख जिल्ला मानिन्छ । तर उत्पादनमा आएको गिरावटले स्थानीय बजार, व्यापारी तथा फलफूल प्रशोधन केन्द्रहरूमा प्रत्यक्ष असर पारेको छ ।

कृषि विज्ञ तथा सरोकारवालाहरू दीर्घकालीन नीतिको आवश्यकता औंल्याउँदै सिँचाइ सुविधा, आधुनिक कीरा नियन्त्रण प्रणाली, र किसानलाई उत्पादनसम्बन्धी तालिमको सुनिश्चितता गर्न सरकार तथा स्थानीय तहलाई आग्रह गरिरहेका छन् ।
त्यस्तै, चिस्यान केन्द्रको व्यवस्था र सरकारी प्रोत्साहन कार्यक्रमले किसानको मनोबल बढाउने र जिल्लाको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने उनीहरूको धारणा छ ।