द न्यूज होम
जनकपुरधाम, असार १६ गते । नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको नेतृत्वमा एक प्रतिनिधिमण्डलले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै विश्वविद्यालयका उपकुलपतिलाई भेटी औपचारिक स्मरणपत्र बुझाएको छ ।

स्मरणपत्र बुझ्दै विश्वविद्यालयका उपकुलपति (भीसी) ले राजनीतिक दबाबका कारण भवन निर्माण प्रक्रिया अघि नबढेको जानकारी गराएका छन् । उनले सबै प्रक्रिया पूरा भए पनि निर्माणमा अवरोध राजनीतिक हस्तक्षेपबाट उत्पन्न भएको स्वीकार गरे । यद्यपि, त्यो दबाब कुन पार्टी वा नेताबाट आएको हो भन्ने खुलासा गर्न उनले चाहेनन् ।

उनले भने, “हामीमाथि दबाब आवश्यक छ । यस्तो दबाबले हामीलाई बल दिन्छ । अहिले विश्वविद्यालयको सबै भौतिक संरचना भाडा र लिजमा सञ्चालन भइरहेको छ, जुन दीर्घकालीन समाधान होइन । सबैको चाहना आफ्नो भवन होस् भन्ने हो ।”

वि.सं. २०५३ सालमा नेता विमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको अवधारणा प्रस्ताव गरेका थिए । त्यसबेला तत्कालीन जिल्ला विकास समिति सभापति राम सरोज यादवको अध्यक्षतामा परिषद् बैठकबाट निर्णय पारित गरिएको थियो । त्यस निर्णयअनुसार धनुषाका सबै तत्कालीन गाविसले १ लाखका दरले र महोत्तरीका सबै स्थानीय निकायले ५० हजारका दरले आर्थिक सहयोग गरेका थिए ।

हाल विश्वविद्यालयलाई नगराईन नगरपालिका–४ फुलगामास्थित मणियारी चौरीमा करिब १३ बिघा जग्गा उपलब्ध गराइएको भए पनि तीन दशक बितिसक्दा पनि भवन निर्माण हुन नसक्नु चिन्ताको विषय बनेको छ ।

शिक्षा जस्तो पवित्र क्षेत्रलाई राजनीतिक विवादमा तानिँदै आएकोप्रति प्रतिनिधिमण्डलले आपत्ति जनाउँदै छिटोभन्दा छिटो निर्माण कार्य अघि बढाउन विश्वविद्यालय र प्रदेश सरकारलाई आग्रह गरेका छन् । साथै, स्मरणपत्रमार्फत स्थानीय जनताको भावनालाई सम्मान गर्दै विश्वविद्यालयको दीर्घकालीन स्थायित्वका लागि आवश्यक निर्णय लिन पनि जोड दिएका छन् ।

प्रतिनिधिमण्डलमा पूर्व प्रदेश मन्त्री तथा प्रदेशसभा सदस्य राम सरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, नगराईन नगरपालिकाका मेयर बिनय यादव, काँग्रेसका युवा नेता राम पल्टन साह, प्रवेश चौधरी, क्षेत्र नम्बर ३ ‘क’ र ‘ख’ का सभापति छेदी राउत र रामचन्द्र पंजियार, नगराईन नपाका पूर्व उपमेयर, वडा नं. ३ र ४ का वडाध्यक्षहरू, नेपाल महिला संघकी केस निलम कर्ण, जिल्ला सदस्य अनिता श्रीवास्तव, प्रजातन्त्र सेनानी संघ धनुषाका अध्यक्ष प्रमोद कुमार श्रीवास्तव, वडा नं. ७ का सभापति श्याम साह, विद्यार्थी नेता सुजित यादवलगायत नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।