द न्यूज होम
जनकपुरधाम, असार १७ गते । मैथिली भाषाको बहुप्रतिक्षित फिल्ममध्ये एक मानिएको ’त्रास’ अब साउन १७ गते राजविराजको सिनेमा हलमा रिलिज हुने भएको छ । शर्मा क्रिएशनको ब्यानरमा बनेको यस फिल्मले समाजमा आफुलाई “ठूला“ ठान्नेहरूबाट हुने हिंसा र त्यसको अन्त्यका लागि गरिने संघर्षलाई मुख्य कथावस्तु बनाएको छ ।

फिल्मका कथाकार तथा निर्देशक निराजन मेहता मन्जितका अनुसार फिल्म सस्पेन्समा आधारित रहेकोले कथाको सम्पूर्ण विवरण रिलिजअघि खुलाउन नमिल्ने बताए । तर, फिल्मको विषयवस्तु बलियो रहेको र मैथिली दर्शकहरूलाई यसले मन छुने विश्वास व्यक्त गरेका छन् ।

फिल्मका प्रोड्युसरहरूमा श्रीजन ढुंगाना यादव, रामजानकी, र गिता देवी मेहता रहेका छन् भने को–प्रोड्युसरको रूपमा सञ्जित कुमार यादव र गुरुदयाल कुशवाहा छन् । निर्देशन तथा मुख्य अभिनयमा स्वयं निराजन मेहता मन्जित रहेका छन् ।

गीतहरूमा खुशबु जैन, अञ्जु राज, सन्नु कुमार, कैलाश झा र प्रिया जैसवालको स्वर रहेको छ । गीतहरू प्रकाश झा र निराजन मेहता मन्जितले लेखेका हुन् भने संगीत संयोजनमा अमन झा, अग्नि विक्रम विक, र अशोक कुमारको योगदान रहेको छ ।

फिल्ममा मैथिली र भोजपुरी फिल्म क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ। निर्देशक मेहताका अनुसार फिल्मलाई मधेश प्रदेशका सबै मैथिली भाषी जिल्लामा च्यारिटी शो मार्फत पनि प्रदर्शन गरिनेछ । ‘त्रास’ले क्षेत्रीय भाषामा सशक्त सिनेमा निर्माणको नयाँ उचाइ कायम गर्ने अपेक्षा गरिएको छ।