द न्यूज होम
जनकपुरधाम, असार १८ गते । जनकपुरधाम उपमहानगरपालिका–१५, रामपुर निवासी ७५ वर्षीय बासुदेव प्रसाद विमलको चक्कु प्रहार गरी गरिएको हत्याप्रति प्रतिनिधीसभा सांसद जुलि महतोले गहिरो दुःख व्यक्त गरेकी छन् । उनले घटनाप्रति दुःख प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छिन् भने शोकाकुल परिवार र शुभेच्छुकहरूप्रति हार्दिक समवेदना पनि व्यक्त गरेकी छन् ।

सांसद महतोले यस्तो जघन्य घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई अबिलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेकी छन् । उनले घटनाले जनकपुरधामको शान्ति सुरक्षामा गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै अपराधीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएकी छन् ।

“शान्तिपूर्ण समाज निर्माणका लागि यस्ता अपराधीलाई उन्मुक्ति दिनु हुँदैन,“ महतोले भनेकी छन्, “पीडित परिवारलाई न्याय दिनु र समाजमा शान्तिको प्रत्याभूति गराउनु सरकार र सुरक्षानिकायको कर्तव्य हो ।“

जनकपुरधाम–१५, रामपुरका बासुदेव प्रसाद विमलको आफ्नै ज्वाईं बेचन महासेठद्वारा चक्कु प्रहार गरी हत्या गरिएको थियो । घरायसी विवादकै कारण घटना घटेको बताइएको छ भने आरोपी फरार छन्। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।