द न्यूज होम
जनकपुरधाम, असार २२ गते ।  विदेह नगरपालिका वडा नं. २ स्थित दुहवी क्षेत्रमा तस्करी नियन्त्रणका नाममा सर्वसाधारणमाथि प्रहरीले गरेको दमनप्रति विदेह नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०७२ असार १९ गते राति भएको घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणको नाममा स्थानीय नागरिकहरूमाथि आक्रमणजस्तै व्यवहार गरेको भन्दै नगरपालिकाले कडा आपत्ति जनाएको हो । घटनाको क्रममा प्रहरीले करिब १३ राउण्ड आँसु ग्यास र फायरिङ गरेको, जसले सर्वसाधारणमा त्रास फैलाएको र जनधनको क्षति हुने अवस्था सिर्जना भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख बेचन दासद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएअनुसार, सशस्त्र प्रहरीको गस्ती वास्तविक सीमावर्ती क्षेत्र (दशगज्जा) भन्दा एक किलोमिटर उत्तर तर्फ केन्द्रित भएको र सर्वसाधारण, विशेषतः गरीब तथा दलित वर्गका नागरिकलाई खेतबारी तथा बाटोमै कुटपिट गरिएको बताइएको छ ।

“हाम्रो नगरका अधिकांश नागरिकहरू विवाह, ब्रतबन्ध तथा श्राद्ध जस्ता पारिवारिक कार्यका लागि भारतबाट सस्तो दरमा सरसामान किनमेल गर्छन् । तर, सुरक्षा निकायको कठोर व्यवहारले नागरिकमा डर र असहजता फैलिएको छ,” प्रेस विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाले सशस्त्र प्रहरीले सर्वसाधारणका घरमा पटक–पटक छापा मार्दा पनि कुनै अवैध सामान फेला नपरेको उल्लेख गर्दै, यस्ता गतिविधिले जनतालाई दुःख दिन र तर्साउने नियत देखिएको आरोप लगाएको छ ।

विदेह नगरपालिकाले यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न र नगरवासीहरूको शान्ति–सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सुरक्षा निकायहरूलाई सजग र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ । साथै, स्थानीय तथा राष्ट्रिय सुरक्षासम्बन्धी संयन्त्रहरूसँग समन्वय गर्दै नगरको सुरक्षालाई मजबुत बनाउने प्रतिबद्धता पनि नगरपालिकाले जनाएको छ ।