अभिमनु कुमार पटेल
रौतहट, साउन १ गते । लोकतान्त्रिक संविधान कार्यान्वयन भएको वर्षौं बितिसक्दा पनि दलित, गरिब र महिलामाथि भइरहेको अत्याचार, दमन र बलात्कारजस्ता घटनाले मुलुकको न्यायिक र सामाजिक संरचना अझै कमजोर रहेको पुष्टि गरिरहेका छन् ।

पछिल्लो घटना रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिला (उपनाम) शरना देवी राम चमारमाथि भएको बलात्कारको हो । उनीमाथि गाउँकै ६० वर्षीय खुर्सैद खाँ पैठानले २०८१ जेठ २५ गते बाँसघारीमा हातमुख बाँधेर बलात्कार गरेका थिए ।

घटना यति गम्भीर भए पनि सुरुमा इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले चासो नदेखाएको पीडितको आरोप छ । पछि जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दर्ता भएको भए पनि आरोपी एक वर्षसम्म फरार रहे ।

पीडितका अनुसार खुर्सैदका मान्छेहरूले घटनालाई मिलाउनका लागि ६–८ लाख रुपैयाँसम्मको प्रस्ताव राखेका थिए। तर पीडित परिवारले “पैसा होइन, न्याय चाहिन्छ“ भन्ने अडानमा अडिग रहे ।

यता, आरोपी खुलेआम समाजमा घुमिरहेको, प्रहरी कार्यालयमा पुगिरहेको र राजनीतिक संरक्षण पाइरहेको खबरले पीडितलाई झनै त्रसित बनाएको छ ।

शुरुमा नेकपा माओवादी केन्द्रमा आबद्ध खुर्सैद खाँ अहिले नेपाली कांग्रेसको शरणमा पुगेको बताइएको छ । पीडित पक्षले काँग्रेसका केही स्थानीय नेतामार्फत उनलाई उन्मुक्ति दिलाउन दबाब दिइएको गम्भीर आरोप लगाएका छन् ।

पीडितका श्रीमान भन्छन्, “यदि उसले सजायबाट उन्मुक्ति पायो भने, यसले प्रमाणित गर्छ कि यो देशको कानुन धनी र पहुँचवालाका लागि मात्रै हो ।”

न्याय नपाए आत्महत्या गर्ने चेतावनी दिँदै पीडित शरना देवी भन्छिन्,
“उसको पैसा र पहुँचका अगाडि मेरो इज्जत, पीडा र प्रमाण केही पनि भएन। अदालतले न्याय दिएन भने विष खाएर म आत्महत्या गर्छु ।”

शरना देवीमात्र होइन, गाउँकी अन्य महिलाहरूले पनि खुर्सैदबाट यौन उत्पीडन भोगेको आरोप लगाएका छन् । तर डर र राजनीतिक पहुँचका कारण कोही अगाडि आउन सकेका छैनन् ।