द न्यूज होम
राजविराज, साउन १ गते । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–४ स्थित सिल्हट पर्साहीका १२० भूमिहीन परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) वितरण गरिएको छ ।

लामो समयदेखि सरकारी भूमि (गाउँब्लक) मा बसोबास गर्दै आएका यी स्थानीयवासीहरूलाई कानुनी स्वामित्व प्रदान गर्ने उद्देश्यले नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार कार्यक्रम आयोजना गरी प्रमाणपत्र वितरण गरिएको हो ।

कानुनी रूपमा जग्गा आफ्नो नाममा दर्ता भएपछि स्थानीयवासीहरूले खुशी व्यक्त गरेका छन् । लालपुर्जाको अभावमा वर्षौँदेखि सरकारी सेवा, कर्जा सुविधा, घरजग्गा दर्ताजस्ता सेवाबाट वञ्चित हुँदै आएका उनीहरूले अब आफूहरू पनि “समान नागरिक अधिकारका धारक” भएको महसुस गरेको बताएका छन् ।

नापी कार्यालय सप्तरी अन्तर्गत ३ नं. नापी टोली राजविराजका प्रमुख सतिश यादवका अनुसार, साबिकको फुलकाही गाविसका वडा नं. ६ देखि ९ सम्मका करिब ६० प्रतिशत लालपुर्जा वितरण भइसकेका छन् । बाँकी लाभग्राहीहरूका लागि छिट्टै २१ दिने सार्वजनिक सूचना प्रकाशित गरी वितरण प्रक्रिया अघि बढाइने बताइएको छ ।

“केही स्थानमा नक्सासम्बन्धी समस्या देखिएकाले ती लालपुर्जाहरू तत्काल वितरण हुन सकेनन्,” यादवले जानकारी दिँदै थपे, “तर समस्या समाधानपछि बाँकी लालपुर्जा चाँडै उपलब्ध गराइनेछ ।”

बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंहले बाँकी वडामा पनि लालपुर्जा वितरणको प्रक्रिया क्रमशः अघि बढाइने प्रतिबद्धता जनाए । उनले भने, “पुस्तौँदेखि बस्दै आएका नागरिकले लालपुर्जा नपाउँदा धेरै समस्यामा थिए । अब बिस्तारै नगरभरिका सम्पूर्ण गाउँब्लक क्षेत्रका वासिन्दालाई कानुनी स्वामित्व दिइनेछ ।”