द न्यूज होम
ढाका, साउन १ गते । बङ्गलादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरू र सुरक्षाकर्मीबीच भएको भीषण झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । झडपको घटनाले देशको राजनीतिक अस्थिरता अझ चर्किएको देखिएको छ ।

बुधबार बिहान हसिनाको दक्षिणपश्चिमी गोपालगञ्जस्थित पैतृक घरतर्फ निकालिएको पदयात्राको क्रममा स्थिति तनावपूर्ण बनेको थियो । पदयात्राको आह्वान नेसनल सिटिजन पार्टीले गरेको थियो, जसलाई गत वर्ष हसिना विरुद्ध विद्रोह गरेका विद्यार्थी नेताहरूले गठन गरेका थिए ।

स्थानीय मिडिया र अस्पताल स्रोतका अनुसार, झडपका क्रममा समर्थकहरूले प्रहरीमाथि लाठी प्रहार गरेका थिए भने सुरक्षाकर्मीहरूले नियन्त्रण कायम गर्न बल प्रयोग गरेका थिए । केही प्रदर्शनकारीहरूले २० वटा सरकारी गाडीमा आगजनी गरेको देखिएको टेलिभिजन फुटेजमा देखिन्छ ।

झडपपछि स्थानीय प्रशासनले गोपालगञ्ज जिल्लामा रातभरका लागि कफ्र्यू घोषणा गरेको छ । पार्टीका केही शीर्ष नेताहरू सुरक्षाका लागि प्रहरी कार्यालयमा शरण लिन पुगेका थिए, जसलाई पछि सैनिक बख्तरबन्द सवारी साधनमार्फत सुरक्षित स्थानमा सारिएको थियो ।

सरकारी अस्पतालका वरिष्ठ चिकित्सक जिबितेश विश्वासले तीन शव ल्याइएको पुष्टि गरेका छन्। देशको प्रमुख अङ्ग्रेजी दैनिक डेली स्टार का अनुसार मृत्यु संख्या चार पुगेको छ ।

अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले हिंसालाई “पूर्ण रूपमा अक्षम्य” भन्दै दोषीहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले हिंसामा संलग्नलाई दण्डविहीन नछाड्ने बताएको छ। हसिनाको प्रतिबन्धित पार्टी अवामी लिगले सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै घाइते र मृतकको जिम्मेवारी अन्तरिम सरकारमाथि थोपरेको छ ।

झडपको घटनाले बङ्गलादेशमा राष्ट्रिय मेलमिलापप्रति आशा कमजोर बनाएको छ । विश्लेषकहरूले लोकतान्त्रिक संक्रमण थप संकटमा पर्ने चेतावनी दिएका छन्। नोबेल विजेता युनुस नेतृत्वको अन्तरिम सरकारले शान्ति स्थापना र आगामी अप्रिलमा निर्वाचनको घोषणा गरे पनि, पछिल्ला घटनाहरूले त्यसमा प्रश्न उठाएका छन् ।

पूर्वप्रधानमन्त्री हसिना हाल मानवता विरोधी अपराधमा भारतमा रहेका बताइएको छ, जसलाई बङ्गलादेश सरकारले सुपुर्दगीको प्रयास गरिरहेको छ। यद्यपि भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

नेसनल सिटिजन पार्टीले आफूलाई नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ‘राष्ट्र पुनर्निर्माणका लागि जुलाई मार्च’ घोषणा गरेको छ । बङ्गलादेशको राजनीति दशकौंसम्म दुई मुख्य वंशवादी दल—हसिनाको अवामी लिग र खालिदा जियाको बङ्गलादेश राष्ट्रवादी पार्टी (द्यल्ए)—द्वारा निर्देशित हुँदै आएको छ। तर, नयाँ पार्टी र त्यसको विद्यार्थी नेतृत्वले भविष्यमा राजनीतिक समीकरणमा परिवर्तन ल्याउने संकेत देखिएको छ ।