द न्यूज होम
जनकपुरधाम, साउन २ गते । नेपाल विद्युत प्राधिकरण यदुकुहा वितरण केन्द्र धनुषाले शनिबारका दिन चार घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार मुजेलीया स्थित सबस्टेसनको स्वीचयार्डमा रहेको सीटी÷पीटी (करन्ट ट्रान्सफर्मर÷पोटेन्सियल ट्रान्सफर्मर) परिवर्तन गर्नु पर्ने भएकाले विद्युत आपूर्ति रोक्नु पर्ने भएको हो ।

३३३ केभी मुजेलीया–यदुकुहा फिडरमा पर्ने सो सबस्टेसनमा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्नका लागि शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म चार घण्टा लाइन बन्द राखिने जानकारी दिइएको छ । सो समयमा यदुकुहा वितरण केन्द्रबाट प्रसारित सबै ११ केभी लाइनहरू पूर्ण रूपमा बन्द रहनेछन् ।

उक्त अवरोधका कारण भठीयन, कमला, धबौली, सोनीगमा र तीनकौरीया फिडर अन्तर्गतका सम्पूर्ण क्षेत्रहरूमा विद्युत सेवा प्रभावित हुनेछ । नियमित मर्मत तथा प्रणाली सुधारका लागि गर्न लागिएको यस कार्यले अस्थायी असुविधा भए पनि दीर्घकालमा गुणस्तरीय सेवा दिन मद्दत गर्ने प्राधिकरणको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण यदुकुहा वितरण केन्द्रले उपभोक्ताहरूलाई समयमै जानकारी दिँदै सो अवधिमा आवश्यक तयारी गर्न र सम्भावित असुविधाप्रति क्षमायाचनासहित सहयोगका लागि अनुरोध गरेको छ ।