द न्यूज होम
जनकपुरधाम,साउन ६ गते । मैथिली भाषाको बहुप्रतीक्षित फिल्म कलकतियावाली साउन १० गतेदेखि सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । नायिका अनिशा सदा झाको असामयिक निधनपछि केही समय रोकिएको फिल्म अब उनको श्रद्धाञ्जली स्वरूप प्रदर्शन गर्न लागिएको हो ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक तथा कथाकार अरुण कुमार यादव ‘अरुण विजय’ ले सिरहाको कल्याणपुरमा पहिलो चरणको रिलिज गरिने जानकारी दिएका हुन् । उनका अनुसार, फिल्मको दोस्रो चरणको रिलिज जनकपुरधाममा छिट्टै हुने छ भने त्यसपछि भारतको मिथिला क्षेत्रका विभिन्न हलहरूमा पनि प्रदर्शन गरिने छ ।

“अंशाको सपना थियो फिल्म हलमा हेर्ने । त्यो सपना पूरा नभए पनि हामी उनको सम्झनामा फिल्मलाई पहिले तय गरिएका स्थानहरूमै रिलिज गर्दैछौं,” निर्देशक विजयले भावुक हुँदै भने । “मैथिली समाजलाई यो फिल्म हेरेर अंशालाई श्रद्धाञ्जली दिन आग्रह गर्दछु ।”

फिल्म कलकतियावाली सामाजिक कथावस्तुमा आधारित छ । प्रमुख पात्रहरूमा अभिनाश झा (कलकतियाबाली), श्याम कुमार राम (अठिवा), अनिशा सदा झा (अन्शा), इशिका भुजेल, रामनारायण ठाकुर, र मनिषा सदा (मंशा) लगायतका रहेका छन् । फिल्ममा समावेश एक गीत यूट्युबमा सार्वजनिक भएसँगै लोकप्रिय भइसकेको निर्देशकले बताए ।

फिल्मको निर्माण, निर्देशन र कथालेखनको जिम्मा अरुण कुमार यादव (अरुण विजय) ले सम्हालेका छन् । फिल्मले मैथिली समाजका विविध मुद्दा र भावनालाई उजागर गर्ने प्रयास गरेको बताइएको छ ।

निर्देशक विजयका अनुसार, फिल्म सिनेमा हलमा हेर्न नपाउने दर्शकका लागि रिलिजपछिको केही समयमै कलकतियावाली युट्युबमा पनि अपलोड गरिने छ ।

अंशा सदा झाको असामयिक निधनले मैथिली फिल्म क्षेत्रलाई ठूलो क्षति पुगेको भन्दै कलाकार, दर्शक तथा शुभेच्छुकहरूबाट फिल्मलाई श्रद्धाञ्जलीको रूपमा समर्थनको अपेक्षा गरिएको छ ।