द न्यूज होम
राजविराज, साउन ६ गते । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजका विद्यार्थीहरू परीक्षा केन्द्र सिराहाको लहान सारिएको विषयमा आन्दोलित बनेका छन्। त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र सार्ने निर्णय गरेपछि विद्यार्थीहरूले मंगलबार क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै टायर बालेर आक्रोश व्यक्त गरेका छन् ।

विद्यार्थीहरू स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मविव क्याम्पसको नेतृत्वमा विरोधमा उत्रिएका हुन् । प्रारम्भमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएकोमा असन्तुष्टि जनाएका विद्यार्थीहरू त्यसपछि एलएलबी र व्यवस्थापन संकायका केन्द्रसमेत लहान सारिएपछि थप आक्रोशित बनेका छन् ।

स्ववियु मविव क्याम्पसका सभापति रञ्जित यादवले क्याम्पसमा पर्याप्त पूर्वाधार हुँदा हुँदै परीक्षा केन्द्र अन्यत्र सार्नु दुर्भाग्यपूर्ण र अपमानजनक भएको बताए । “त्रिविले जानाजानी सप्तरी र सिरहाको मात्र केन्द्र सार्नु बदनियत हो,” उनले भने । “आङ्गिक क्याम्पसको परीक्षा निजी क्याम्पसमा स्थानान्तरण गर्नु अन्यायपूर्ण व्यवहार हो। निर्णय तुरुन्त फिर्ता नभए कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।”

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले चर्को नाराबाजी गर्दै परीक्षा केन्द्र पुनः राजविराजमै राख्न माग गरेका छन् । उनीहरूले त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायहरूलाई निर्णय फिर्ता नगरे थप उग्र आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

त्रिवि द्वारा सार्वजनिक गरिएको तालिका अनुसार बुधबारदेखि एलएलबी दोस्रो वर्षको परीक्षा सुरु हुँदैछ। तर विद्यार्थी आन्दोलन चर्किँदा परीक्षार्थीहरूमा अन्योल उत्पन्न भएको छ । राजविराज मविवमा मात्र एलएलबी दोस्रो वर्षमा ३०० विद्यार्थी अध्ययनरत छन् ।

परीक्षा सुरुवातको पूर्वसन्ध्यामा देखिएको यस प्रकारको असन्तुष्टिले त्रिविको निर्णयमाथि व्यापक प्रश्न उठाएको छ। विद्यार्थीहरूले भने, “हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।”