द न्यूज होम
जनकपुरधाम, साउन ७ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रमा भइरहेको दोहन नै मधेशमा पानी संकटको मुख्य कारण भएको बताउँदै चुरे संरक्षणका लागि दोहन तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले भने, “चुरे दोहन नरोकी चुरे संरक्षण सम्भव छैन । चुरे नासिँदा त्यसको प्रत्यक्ष असर मधेशको पानी प्रणालीमा पर्न गएको हो ।”

सिंहले मधेशमा बढ्दो खडेरी र पानीको संकटलाई लिएर सरकार अत्यन्त गम्भीर रहेको बताउँदै मन्त्रिपरिषद् बैठकबाट यस विषयमा ठोस निर्णय ल्याइने प्रतिबद्धता जनाए । उनले सबै पक्षले चुरे संरक्षणमा ऐक्यबद्धता देखाउनुपर्ने बताए ।

पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धाप्रति टिप्पणी गर्दै उपप्रधानमन्त्री सिंहले गाली, दोषारोपण र हिलो छ्यापाछ्यापले कांग्रेस बलियो नहुने उल्लेख गरे । “कमजोरी सच्यौं भने मात्रै पार्टी बलियो हुन्छ,” उनले भने ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले सङ्गठन सुदृढीकरणमा सबै तहका नेताहरू सहकार्य गर्नुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि कांग्रेस बलियो हुनुपर्ने तर्कसमेत प्रस्तुत गरे ।

कार्यक्रममा स्थानीय सरकार प्रमुखहरूले इतिहासमै पहिलो पटक सहरी विकास मन्त्रालयबाट ठूला बजेट आएको भन्दै उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए । सिंहले जनकपुरधामस्थित रामसीता विवाह मण्डप (सीता पुष्प वाटिका)को उदघाट्न गरेको छ भने आजै महोत्तरीको जलेश्वरमा निर्मित बहुउद्देश्यीय भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम छ ।