द न्यूज होम
जनकपुरधाम, साउन ७ गते । नेपाल–भारत सीमावर्ती क्षेत्र महिनाथपुर बोर्डरमा आज बिहान भएको झडपपछि भारतीय सुरक्षाबलले चलाएको गोलीबाट एक व्यक्ति घाइते भएका छन् । भारतको बिहार राज्य अन्तर्गत मधुबनीका एसपी योगेन्द्र कुमारका अनुसार बिहान करिब १० बजे उक्त घटना भएको हो ।

एसपी कुमारका अनुसार नेपालबाट भारततर्फ गैरहेका चार जना व्यक्ति भारतीय चेकपोस्ट नहुँदै वैकल्पिक बाटो प्रयोग गरी बोर्डर पार गर्न खोजेपछि भारतीय सुरक्षाकर्मीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडप बढेपछि आत्मरक्षाका लागि सुरक्षाबलका एक जवानले हवाई फायरिङ गरेका थिए ।

गोली प्रहारबाट ती चार अज्ञातमध्ये एक जनाको कमरमा गोली लागेको बताइएको छ । उनलाई तत्काल दरभंगा मेडिकल कलेजमा भर्ना गराइएको छ र उनको अवस्था सामान्य रहेको एसपी कुमारले जानकारी दिएका छन् । झडपमा दुई जना भारतीय सुरक्षाकर्मी पनि घाइते भएको जनाइएको छ ।

सीसीटीभी फुटेजका आधारमा चारै व्यक्तिको पहिचान भइसकेको र तीमध्ये एक जनालाई पक्राउ गरी उनलाई विरुद्ध मुद्दा दर्ता गरिएको एसपी कुमारले बताएका छन् । घटनास्थलमा अहिले स्थिति नियन्त्रणमा रहेको जनाइएको छ ।

यद्यपी चारै जना व्यक्ति नेपालको या भारतको हो भनेर अहिले सम्म कतैबाट पुष्टि भएको छैन ।

उक्त घटनाप्रति हालसम्म नेपाल प्रहरीको कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन । सीमावर्ती क्षेत्रमा बारम्बार यस्ता झडप भइरहेकाले यस घटनाले पुनः दुई देशबीचको सीमा व्यवस्थापनमा संवेदनशीलता बढाएको छ ।