द न्यूज होम
सर्लाही, साउन ७ गते । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालका एक चिकित्सकमाथि हातपात भएको घटनापछि अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प भएका छन् । अस्पताल प्रशासनले दोषीमाथि कारवाहीको माग गर्दै मङ्गलबारदेखि नियमित ओपीडी सेवा बन्द गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले सोमबार राति अर्थोपेडिक विशेषज्ञ डा. कृष्णजङ्ग साहमाथि बिरामीका आफन्तले हातपात गरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आक्रोशित बनेका बताएका छन् । डा. सिंहले भने, “ड्युटीमा रहेका चिकित्सकमाथि आक्रमण हुनु गम्भीर विषय हो। दोषीलाई कानुनी दायरामा ल्याइएसम्म सेवा पुनः सुचारु हुँदैन ।”

अस्पतालमा हड्डी भाँचिएका एक बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गर्न लागिएको थियो । तर, बिरामीका आफन्तहरूले त्यसमा आपत्ति जनाउँदै डा. साहमाथि दुव्र्यवहार र हातपात गरेका थिए ।

घटनापछि नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै आक्रोश व्यक्त गरेको छ । विज्ञप्तिमा दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न माग गरिएको छ । संघले चेतावनी दिएको छ कि सुरक्षाको प्रत्याभूति नपाएसम्म चिकित्सकहरू सुरक्षित सेवा दिन सक्दैनन् ।

अस्पतालको ओपीडी सेवा ठप्प भएपछि दैनिक उपचारका लागि आउने सयौं बिरामी मर्कामा परेका छन् । आकस्मिक सेवा मात्र सञ्चालन भइरहेकाले सामान्य परीक्षणदेखि उपचारका अन्य सेवाहरू प्रभावित भएका छन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी सक्रिय भएको बताइएको छ । तर, अहिलेसम्म दोषी पक्राउ गरिएको वा कारवाही भएको पुष्टि नभएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल प्रशासन र चिकित्सकहरूले सेवा पुनः सुचारु गर्न दोषीलाई कारवाहीसहित चिकित्सक सुरक्षाको प्रत्याभूति हुनुपर्ने अडान राखेका छन् ।