द न्यूज होम
जनकपुरधाम, साउन ८ गते । निकै प्रतिक्षा गरिएको मैथिली फिल्म ‘कलकतियावाली’को दोस्रो गीत ‘ठेला परके पुरी जका गाल किया फुलौने छे…’ सार्वजनिक गरिएको छ। बिहीबार युट्युब र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको उक्त गीत छोटो समयमै भाइरल बनेको छ।

फिल्मको यसअघि सार्वजनिक पहिलो गीत ‘ई मौसम ई नजारा…’ ले ठूलो सफलता पाइसकेको छ भने दोस्रो गीतले पनि उत्कृष्ट संगीत र गायनका कारण दर्शक तथा श्रोतालाई आकर्षित गरिरहेको छ।

गीतमा प्रमोद मनोजको संगीत, श्यामकुमार राम (अठिवा)को लेखन रहेको छ। गायनमा मिथिलाका चर्चित गायक अरुण विजय, रञ्जित शर्मा र शशि झाले स्वर दिएका छन्।

‘लभ यु मिथिला’को ब्यानरमा निर्माण गरिएको ‘कलकतियावाली’ मैथिली फिल्म साउन १० गते शनिबारदेखि औपचारिक रूपमा प्रदर्शनमा आउने तयारीमा रहेको छ। फिल्म सार्वजनिक हुनुभन्दा अघि नै यसले मिथिला क्षेत्रका दर्शकबीच उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ।

मैथिली कला, भाषा र सांस्कृतिक प्रस्तुतिमा आधारित फिल्म ‘कलकतियावाली’ अहिलेको समयको सबैभन्दा प्रतिक्षित मैथिली चलचित्रको रूपमा हेरिएको छ। फिल्मको गीत–संगीत, संवाद र कथावस्तु दर्शकमाझ थप कौतुहलता बढाउँदै गएको छ।