द न्यूज होम
जनकपुरधाम, साउन ८ गते । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले हालको सरकार परिवर्तन हुने चर्चा आधारहीन रहेको बताएका छन् । उनले अहिलेको गठबन्धनमा कुनै पनि किसिमको सरकार परिवर्तनको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

प्रदेशसभा तथा नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री यादवले पछिल्लो समय नेपाली कांग्रेस र एमालेका केही नेताहरूले अर्को सरकारको अभ्यास भइरहेको भन्दै भ्रम फैलाइएकोप्रति आपत्ति जनाए ।

‘मधेशमा अर्को सरकार गठनबारे हाम्रो पार्टीभित्र र गठबन्धनमा कुनै छलफल भएको छैन,’ मन्त्री यादवले भने, ‘तर अफवाह फैलिँदा सरकारको गरिमा घटिरहेको छ । अहिले यही सरकारले निरन्तरता पाउँछ, नयाँ सरकार गठनको कुनै प्रयास भएको छैन ।’

उनको यो भनाइ यस्तो समयमा आएको हो, जब नेपाली कांग्रेसका सांसद कुमलकान्त झा र एमालेका सांसद हरिनारायण महतोले सरकार परिवर्तनका लागि आन्तरिक तयारी भइरहेको र केही दिनमै सरकार परिवर्तन हुने दाबी गर्दै आएका छन् । यो दावी जनकपुरधामका एक स्थानिय पत्रिकामा प्रमुखताका साथ छापिएका थिए ।

मन्त्री यादवको प्रष्टिकरणसँगै मधेश प्रदेशको राजनीतिक वृत्त फेरि तरंगित बनेको छ । सरकार स्थायित्वमा रहेको भन्दै उनले अफवाहमा विश्वास नगर्न जनतालाई आग्रहसमेत गरेका छन् ।