द न्यूज होम
जनकपुरधाम, साउन ८ गते । धनुषामा खेतमा विद्युतीय मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक किसानको ज्यान गएको छ । हंसपुर नगरपालिका–३ मलहनिया निवासी ६० वर्षीय असर्फी महराको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार दिउँसो करिब पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल स्थानीय क्लिनिकमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका धनुषा प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

यसअघि बुधबार नै मधेश प्रदेशको रौतहटमा पनि यस्तै घटना दोहोरिएको थियो । त्यहाँ सिँचाइका क्रममा दुई जना किसानको करेन्ट लागेर ज्यान गएको थियो ।

अहिले मधेशमा वर्षाको अभावका कारण गम्भीर खडेरीको अवस्था छ । यसले गर्दा किसानहरूले विद्युतीय मोटरको सहारामा धान रोप्न र सिँचाइ गर्नुपरेको छ। तर, सुरक्षा सावधानी नअपनाउँदा दैनिकजसो किसानहरूले ज्यान गुमाउनुपरेको छ ।