द न्यूज होम
जनकपुरधाम, साउन ८ गते । वर्षाको चरम अभावसँगै सिँचाइको समस्या झेलिरहेको मधेश प्रदेशमा सिँचाइ संस्थाहरूले पानीको सीमित उपलब्धता व्यवस्थापन गर्न आलोपालो सिँचाइ प्रणाली लागू गरेका छन् ।

कमला सिँचाइ व्यवस्थापन कार्यालय, धनुषाका अनुसार कमला नहरमा पानीको बहाव अत्यन्त कम भएपछि शाखागत रूपमा पालो मिलाएर सिँचाइको व्यवस्था गरिएको हो । कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवका अनुसार असार १० गतेदेखि नहरमा पानी प्रवाह सुरु गरिए पनि कमला नदीमै पानीको मात्रा न्यून रहेकाले सबै क्षेत्रमा एकैसाथ सिँचाइ सम्भव छैन ।

कमला सिँचाइ प्रणालीले धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याइरहेको छ । धनुषामा मात्रै गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिका गरी १२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। त्यस्तै, सिरहामा कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिराहा, सुखीपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिकासहित १२ हजार ५०० हेक्टर क्षेत्रमा यो सेवा विस्तार गरिएको छ ।

त्यसैगरी, तराई मधेश भूमिगत जल सिँचाइ कार्यक्रमअन्तर्गत सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लाका १९० हेक्टर क्षेत्रफलमा डिप ट्युबवेलमार्फत सिँचाइ सुविधा प्रदान भइरहेको छ ।

बागमती सिँचाइ आयोजनाले सर्लाही र रौतहटका ४५ हजार ६०० हेक्टर क्षेत्रमा सेवा दिने क्षमता राखे पनि पानीको अभावले गर्दा पालो अनुसार सिँचाइ गरिने गरिएको छ ।

यसैगरी, नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साले पर्सा, बारा र रौतहटका ३७ हजार ४०० हेक्टरमा तथा चन्द्र नहर सिँचाइ प्रणालीले सप्तरीमा १० हजार ५०० हेक्टर क्षेत्रमा सिँचाइ सेवा दिइरहे पनि ती प्रणालीहरूमा पनि पानीको स्रोत सुक्खिँदै गएकाले आलोपालो विधि अपनाइएको हो ।

मधेश प्रदेश सरकारको तथ्याङ्कअनुसार कुल पाँच लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिनमध्ये दुई लाख ७३ हजार ४१० हेक्टर मात्रै सिञ्चित रहेको छ । यसमा नहरद्वारा १ लाख ५३ हजार २७ हेक्टर, कुलोद्वारा ८७ हजार १७२ हेक्टर र ट्युबवेलबाट २१ हजार २०७ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

वर्षा अझै नहुनु र भूमिगत जल समेत घट्दै जानुले आगामी दिनमा मधेशको कृषिमा थप संकट गहिरिने चिन्ता बढ्दै गएको छ ।