द न्यूज होम
सर्लाही, साउन ८ गते । सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा बिहीबारदेखि पुनः सेवा सुचारु भएको छ । सोमबार राति एक बिरामीका आफन्तले अर्थोपेडिक विशेषज्ञ डा. कृष्णजङ्ग साहमाथि हातपात गरेपछि आक्रोशित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मङ्गलबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए ।

दोषीले प्रहरी कार्यालयमा माफी मागेपछि बुधबार साँझ सहमति कायम भएको र बिहीबारदेखि नियमित सेवामा फर्किएको अस्पतालका सूचना अधिकारी डा. अविनाश सिंहले जानकारी दिए ।

दुई दिनसम्म ओपीडी, प्रयोगशाला, एक्स–रेलगायतका सेवा ठप्प हुँदा सर्वसाधारण बिरामीहरू अत्यन्त मारमा परेका थिए । सरकारी अस्पताल बन्द हुँदा केही निजी अस्पताल र क्लिनिकले अस्पतालको गेटबाटै बिरामी ‘तानातान’ गरेको दृश्य देखिएको थियो ।

सोमबार रातिको घटनापछि जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी परे पनि दोषीले माफी मागेपछि उनीहरूविरुद्ध थप कारबाही अगाडि नबढाउने सहमति भएको हो ।

मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जिवकुमार सिंहका अनुसार, यसअघि पनि अस्पतालमा चिकित्सकमाथि हातपात तथा दुव्र्यवहारका घटनाहरू भइरहेकाले शान्ति, सुरक्षाको माग निरन्तर उठाउँदै आएको बताएका छन् ।

घटनापछि प्रादेशिक अस्पतालको सेवामा सामान्य सुधार भए पनि सुरक्षा व्यवस्थाको दीर्घकालीन समाधानमा स्थानीय प्रशासनको ध्यान केन्द्रित गरिनुपर्ने माग चिकित्सकहरूपक्षबाट भइरहेको छ ।