द न्यूज होम
एजेन्सी,साउन ८ गते । करिब ५० जना यात्रु बोकेको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४ विमान बिहीबार रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा दुर्घटना भएको छ ।

ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा सहरतर्फ गइरहेको उक्त दुई प्रोपेलर विमान स्थानीय समयअनुसार दिउँसो १ बजे राडारबाट हराएको थियो। केहीबेरपछि उद्धार हेलिकप्टरले टिन्डाबाट झण्डै १६ किलोमिटर टाढाको जङ्गलयुक्त पहाडी क्षेत्रमा जलिरहेको विमान देखेको थियो ।

रुसी अनुसन्धानकर्ताहरूद्वारा सार्वजनिक गरिएको भिडियोमा विमानको भग्नावशेषबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ । उद्धारकर्ताहरूका अनुसार घटनास्थलमा हालसम्म कुनै बाँचेकाको संकेत देखिएको छैन। अमुर क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले २५ जना उद्धारकर्मी र पाँच युनिट उपकरणसहित स्थल टोली घटनास्थलतर्फ पठाइएको जनाएको छ ।

जङ्गली र दुर्गम भू–भागका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । उद्धारको अधिकांश कार्य हवाई मार्गबाट जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

अमुर प्रदेशका गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दल थिए। तीमध्ये पाँच जना बालबालिका रहेको जनाइएको छ । तर, रूसी समाचार एजेन्सी तासले यात्रु संख्या ४० रहेको दाबी गरेको छ ।

रुसको यातायात अभियोजक कार्यालयले विमानले टिन्डा विमानस्थलमा दोस्रो अवतरण प्रयास गरिरहेको बेला सम्पर्क टुटेको जनाएको छ । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

सन् १९५९ मा सेवा सुरु गरेको एन्टोनोभ–२४ विमान झण्डै ५० वर्ष पुरानो हो। रिपोर्टअनुसार यस विमानको उडान योग्यता प्रमाणपत्र सन् २०३६ सम्मका लागि नविकरण गरिएको थियो ।

हाल रुसमा पुराना सोभियत युगका विमानहरूलाई आधुनिक जेट विमानद्वारा विस्थापन गर्ने प्रयास भए पनि दुर्गम क्षेत्रमा अझै यस्ता पुराना विमान व्यापक रूपमा प्रयोग हुँदै आएका छन्, जसका कारण यस्ता दुर्घटनाहरू समय–समयमा देखिन्छन् ।