द न्यूज होम
जनकपुरधाम, साउन १२ गते । जनकपुरधाम उपमहानगरपालिका–४ मा एक महिला मृत फेला परेकी छन् । आफ्नै घरमा २३ वर्षीया शोभा मण्डल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शोभा मण्डल चन्दन मण्डलकी श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजे घरमै झुण्डिएर आत्महत्या गरेको सूचना आएको थियो । तर प्रहरी टोली घटनास्थलमा पुग्दा ओछ्यानमै शव भेटिएको उनले जानकारी दिए ।

“घरपरिवारले झुण्डिएको देखेपछि पासो काटेर ओछ्यानमा राखिएको बताएका छन्,“ निरीक्षक बैठाले भने । घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेकाले पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारणबारे यकिन भन्न सकिने प्रहरीले जनाएको छ ।

तर मृतक शोभाको माइती पक्षले भने यो आत्महत्या नभई हत्या भएको आरोप लगाएका छन् । माइती पक्षका अनुसार विगतदेखि दाइजोका कारण शोभा र उनको परिवारबीच झगडा हुँदै आएको थियो ।

शोभाको पाँच वर्षअघि चन्दन मण्डलसँग विवाह भएको थियो । दम्पतीकी एक छोरी रहेको छ । शोभाको माइती महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ माइस्थानमा पर्छ । हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।