द न्यूज होम
रौतहट, साउन १२ गते । रौतहटको राजपुर नगरपालिका–३ निवासी एक दलित महिलामाथि एक वर्षअघि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका खुर्सैद खाँ पैठानलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले आइतबार आरोपी पैठानलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गर्ने आदेश दिएको हो । इजलास नं. ३ की अधिकृत आस्था शर्मा पौडेलले यो जानकारी दिएका छन् ।

थुनछेक बहसको क्रममा न्याय माग्दै पीडित पक्षले अदालत अगाडि प्रदर्शनसमेत गरेका थिए । महिला अधिकारकर्मी सावित्री सुवेदीको नेतृत्वमा महिलाहरूले अदालतको प्रवेशद्वारमा प्रदर्शन गर्दै “आरोपितलाई थुनामै राखेर निष्पक्ष छानबिन गर्नुपर्छ” भन्ने माग गरेका थिए ।

पीडित महिलाका श्रीमान् सिकेन्द्र राम चमारले आरोपी पक्षबाट निरन्तर दबाब, आर्थिक प्रलोभन र ज्यान मार्ने धम्की आइरहेको बताएका छन् । उनका अनुसार आरोपी पैठानका छोराहरू र आफन्तले मुद्दा फिर्ता लिन दवाव दिँदै आएका छन् ।

घटनामा संलग्न भनिएका खुर्सैद खाँ पैठान असार १८ गते जिल्ला प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए । यसअघि उनी फरार रहेका थिए ।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजपुर–४ निवासी आम जनता पार्टीका केन्द्रीय सदस्य राजन साहले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए । उनले भने, “पैसा, राजनीतिक पहुँच वा अन्य कुनै प्रभावका आधारमा दोषीलाई छुट दिने काम भयो भने यो सिंगो न्याय प्रणालीमाथि प्रहार हुनेछ ।”

उक्त घटना न्यायको पर्खाइमा छ, र पीडित पक्ष अझै पनि निष्पक्ष र कडाभन्दा कडा कारबाहीको अपेक्षामा रहेको छ ।