द न्यूज होम
जनकपुरधाम, साउन १४ गते । मैथिली फिल्म कलकतियावालीको लोकप्रिय गीत ‘प्यार होइय कोना…’ले एक पटक फेरि मैथिली गीत–संगीतमा मधुरता र भावनात्मकताको स्वाद भरेको छ ।

अरुण विजया र इशिका भुजेलको स्वरमा सजिएको यो गीतले प्रेमपछिको पहिलो अनुभूतिलाई संगीतमय ढंगले प्रस्तुत गरिएको छ । विशेषगरी इशिका भुजेलको मिठासपूर्ण आवाज, गीतका शब्द र संगीत संयोजनले यो गीतलाई दर्शक–श्रोतामाझ लोकप्रिय बनाइरहेको छ ।

हाल बजारमा डिजे धुन र डान्स म्युजिकको वर्चस्व भइरहेका बेला ‘प्यार होइय कोना…’जस्ता शान्त, गहिरो र भावुकताले भरिएका गीतहरूको आगमनले मैथिली संगीतमा भिन्न स्वाद र शैलीको अनुभव गराएको छ ।

पहिले नै सुपरहिट भइसकेको फिल्म ‘कलकतियावाली’ले हालसम्म तीनवटा गीत मात्रै सार्वजनिक गरेको छ । तीन वटै गीत मध्ये ‘प्यार होइय कोना…’ले गीत संगीत पारखीहरुलाई बेग्लै स्वाद दिएको छ । यद्यपी फिल्मका दुबै गीत पनि शानदार र सुपरहिट छ ।

मैथिली फिल्म र संगीतप्रेमी दर्शकहरूले अब आगामी गीतप्रति पनि उच्च अपेक्षा राख्न थालेका छन् । फिल्मको बाँकी गीतहरू सार्वजनिक भएसँगै ‘कलकतियावाली’ले मैथिली सांगीतिक उद्योगमा अझ गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।