द न्यूज होम
जनकपुरधाम, साउन १८ गते । शनिबार राजविराजस्थित सिनेमा हलमा आयोजित मैथिली फिल्म त्रास को प्रिमियर शोका क्रममा केही दर्शकले मोबाइलमार्फत सम्पूर्ण फिल्म भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि फिल्मका निर्माता तथा निर्देशक निराजन मेहता मन्जितले कडा आपत्ति जनाएका छन् ।

निर्देशक मन्जितले आइतबार फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै यस्तो गैरकानुनी र अमर्यादित गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोहरू तुरुन्त हटाउन सबैमा आग्रह गरेका छन् । उनका अनुसार यस्तो कार्यले फिल्ममा गरिएको लाखौंको लगानी जोखिममा परेको छ ।

“राजविराजमा फिल्म बनाएर गल्ती भयो या फस्ट प्रिमियर त्यहीँ गरेर गल्ती भयो जस्तो महसुस हुन थालेको छ,” मन्जितले दुखेसो पोख्दै भने, “फिल्मको केवल पहिलो प्रदर्शन मात्र भएको छ, अझै धेरै स्थानमा प्रदर्शन गर्न बाँकी छ । यस्ता क्रियाकलापले लगानी डुब्ने खतरा बढाएको छ ।”

निर्देशक मन्जितका अनुसार फिल्मको भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि हलमा दर्शकको उपस्थिति घट्ने सम्भावना उच्च छ, जुन मैथिली फिल्म उद्योगकै भविष्यका लागि घातक हुने संकेत हो । उनले मैथिली भाषामा फिल्म बनाउन लगानीकर्ताको संख्या अत्यन्तै सीमित रहेको र आफूले जोखिम मोलेर प्रयास गर्दा पनि यस्ता नकारात्मक घटनाले उत्साह मार्ने काम गरेको गुनासो गरे ।

“मैथिली फिल्ममा लगानी गर्ने वातावरण बनाउनु पर्ने बेला यस्तो गैरजिम्मेवार कार्यले हाम्रो मेहनतमाथि प्रहार गरेको छ । कृपया यस्ता क्रियाकलाप तत्काल बन्द गरियोस्,” निर्देशक मन्जितको स्पष्ट आग्रह छ ।

निर्देशकको भनाइ अनुसार फिल्म ‘त्रास’ अहिले विभिन्न जिल्लाका सिनेमा हलहरूमा प्रदर्शनको तयारीमा रहेको छ । उनले दर्शकलाई सामाजिक सञ्जालमा सम्पूर्ण फिल्म अपलोड नगर्न, नहेर्न र हटाउन सहयोग गर्न अपिल गरेका छन् ।