प्रफुल्ल कुमार घिमिरे
जनकपुर धाम , नेपालको मिथिला क्षेत्रमा अवस्थित एक पवित्र धार्मिक नगरी हो, जसको एतिहासिक, पौराणिक , आध्यात्मिक र सांस्कृतिक महत्व अद्वितीय छ। यहाँ राजा जनक, देवी सीता, ॠषि याज्ञवल्क्य, गार्गी, शतानन्द, मैत्रेयी, आदि विभुतिहरुको स्मृति अटुट रुपमा बाँकी छ। तथापि , पछिल्ला दशकहरुमा ७२ पवित्र सर (पोखरी-कुण्ड ), ५२ कुटिहरु, दर्जनौ मठ-मन्दिर , बगैचाहरु, इनारहरु तथा संस्कृत परम्पराहरुको निरन्तर क्षरण हुँदै गएको छ।
जनकपुरधाम — केवल एउटा सहर होइन, एक इतिहास हो। एक संवेदना हो। एक सांस्कृतिक चेतना हो। जहाँ हरेक पत्थरमा कथा छन्, हरेक पोखरीमा धर्म छ, र हरेक गजुरमा संस्कार। यस्तो ठाउँ विश्वमै कमै छन्, जहाँ संस्कृति, धर्म, दर्शन, परम्परा, प्रेम, त्याग र आध्यात्मिक उचाइ एउटै धरोहरभित्र समाहित छन्।
तर यो गौरवशाली सहर आज दिशाहीन मोडमा उभिएको छ। विकासको नाममा विनाश भैरहेको छ। स्मृतिको नाममा विस्मृति छाइरहेको छ। संरक्षणको नाममा दोहन भैरहेको छ।
जनताको आवाजभन्दा माथि योजनाविहीन सत्ताका निर्णयहरू हावी छन्। र यस्तो अवस्थामा एउटा प्रश्न उठ्छ —
“के यो जनकपुरधाम यहाहरुको इच्छाले चलिरहेको छ?”
धार्मिक ऐश्वर्य र सांस्कृतिक गौरवको स्वर्णकाल रहेको ,
वेद, उपनिषद् र दर्शनको लीलाभूमि – जनकपुरधामको बिगत आजको पुस्ताका लागि किंवदन्ती जस्तो लाग्न सक्छ। तर यो कुनै मिथक होइन, “धार्मिक प्रमाण र ऐतिहासिक साक्ष्यमा आधारित सत्य”हो।
शताब्दीयौँ अघिदेखि यो भूभाग राजा जनकको राजधानी मिथिलाको केन्द्र थियो। यहीँ राम–जानकीको पवित्र विवाह भएको थियो। यहीँ मुनि विश्वामित्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी, शतानन्द जस्ता तपस्वी र विदुषीहरूको वास थियो। यहीँ परम्परागत शिक्षाले संस्कृतिबोध, लोकाचार र वैदिक अभ्यासलाई जीवनको अङ्ग बनाएको थियो।
कहिल्यै राजा–सत्ताको भोगका लागि होइन, तपस्वीहरूको साधनाका लागि बनाइएको शहर थियो जनकपुरधाम।
यहाँ ७२ वटा सरोवरहरू थिए- जसलाई कुण्ड, सर, ताल, पोखरी, जलाशय भनिन्थ्यो। ती सबैको नाम, स्थान र धार्मिक कार्यमा विशिष्टता थियो।
यहाँ ५२ भन्दा बढी कुटी, मठ, आश्रम र तपोभूमिहरू थिए – जहाँ देश,विदेशबाट आएका साधु–सन्त, गुरूजन र शास्त्रज्ञहरू तपस्या, ध्यान , पुजा-पाठ गर्थे ।
जनकपुर केवल शहर होइन, एक ‘जीवित तीर्थ’ थियो।
तर आज जनकपुर धाम भुलिँदै गएको स्मृति र खोसिँदै गएको आत्मा सरह बन्न पुगेको छ।
बिगतका त्यो गौरव आज हराउँदै गएको छ। एक एक गरी पोखरीहरू गुम्दै छन् — केही ढलको निकास बने, केही रोड–प्लटिङमा मिलाइए, केही अतिक्रमणको सिकार भए।
कुटीहरू मासिँदै छन् — कतै निजी स्वामित्वको दाबी, कतै सिमाना नापीको अभाव, कतै सरकारी उदासीनता।
पुरातात्त्विक महत्त्वका मन्दिरहरु होस् या तपोवन क्षेत्र — संरक्षणको सट्टा लापरवाही, रेखदेखको सट्टा अवहेलना।
यहाँका ऐतिहासिक इनारहरूमा अब कसैले पानी खान आउँदैन — किनकि धेरैजसो भरिएका छन् या फोहोरले ढाकिएको छ। या त व्यक्तिको रैतान नम्बरिमा गाभिएको छ।
जहाँ बाजा घन्कन्थ्यो, त्यहाँ ट्राफिकको होहल्ला छ। जहाँ आरती हुन्थ्यो, त्यहाँ अब बियरको बोतल भेटिन्छ। जहाँ गजुर टाँगिन्थ्यो, त्यहाँ होर्डिङ बोर्ड छ।
*यो परिवर्तन विकास होइन, संस्कृति गुमाउने विनाश हो।
*यो परिवर्तन जनताको इच्छाले होइन, थोपिएको नियति हो।
कसरी हराउँदैछ सम्पदा ? योजना विहीन शहरीकरणबाट । शुद्ध नगर विकासको सट्टा अव्यवस्थित विस्तार भइरहेको छ। सडक बनेका छन् तर निकास छैन। घर ठडिएका छन् तर आकाश हराएका छन्। धार्मिक नक्शाको सट्टा प्लटिङको नक्शा लागू गरिएको छ।
संरक्षणमा उदासीनता छ। गुठी संस्थान, पुरातत्व विभाग, नगरपालिका लगायतका निकायहरूले संरक्षण गर्ने होइन, जिम्मेवारी पास गर्ने परिपाटी अंगालेका छन्।
जनसहभागिता अभाव छ। आम जनताले आफूलाई केवल दर्शक सम्झिरहेका छन्। परम्परा रक्षा गर्नुपर्छ भन्ने चेतना घर–घरमा फैलिएको छैन। धार्मिक पर्यटन केवल नारासम्म सीमित भएको छ। राम,जानकी मन्दिर , गंगा सागर वरिपरि मात्रै पर्यटन केन्द्रित छ। पादप्रक्षालन सर, लक्षमण सर, राम सगर, पुरन्दर सर, कपाल मोचनी सर, दशरथ सर, पाप मोचनी सर, रत्न सागर , अङ्गराज सर, दिर्घिका सर, मण्डणा सर, तैलदिर्घिका सर,विषहरा सर, मुरली सर, सूर्य कुण्ड, सीता कुण्ड , बिहार कुण्ड, अग्नि कुण्ड , सीता कुण्ड, रुक्मणी सर, विडाल सर, पाकवती सर, चन्द्र कुप सर, लगायत सरहरु र मठ- मन्दिर कुटिहरु हनुमान गढी, श्री मनोकामना सिद्ध हनुमान मन्दिर , जनक मन्दिर, दशरथ मन्दिर, लक्ष्मण मन्दिर, श्री मौनी बाबा स्थान , रत्नसागर मन्दिर, भगवान साकेत बिहारी मन्दिर, रामानन्द आश्रम , रामजानकी मन्दिर रानिपाटी, लक्ष्मीनारायमन्दिर, तोताद्री मन्दिर , रसिक निवास , बंजरग बंजरंगबलि पञ्च मुखी हनुमान मन्दिर, हर्दिनाथ बाबा तथा राजदेवी मन्दिर , कुपेश्वर नाथ मन्दिर, महाकालेश्वर गौरी शंकर नाथ महादेव मन्दिर गिरनारी कुटि सन्यास आश्रम जस्ता दर्जनौँ स्थल उपेक्षित छन्।
नक्सा र दस्तावेजीकरणको अभाव छ। सम्पदाहरूको सूची, स्थान, नक्सा र ऐतिहासिकता प्रस्ट रूपमा दस्तावेजीकरण नभएका कारण संरक्षण कार्य कठिन बनेको छ। बाँचिरहेछ केवल स्मृतिको साँसमा।
बुजुर्गहरू भन्छन् —
“अहिलेको जनकपुर, त्यो जनकपुर होइन जसले हामीलाई धर्म सिकायो।”
“अबका छोराछोरीलाई हामी कुन जनक सर, अमृत कुण्ड, पयशिवनी सर, बलदेव सर, गोपाल सर लगायत सर सागर देखाउँछौँ, कुन इनार-कुवा देखाउँछौँ?” कुन जानकी फुल्वारी, लक्ष्मण बाग, साधु गाछी, पर्वतिया गाछी, राम बाग, हनुमान बाग, हनुमान गढिको बगैंचा , बाँदर गाछी, सीता फुलवारी जस्ता बाग बगैचा देखाउँछौ ?
“जहाँ जहाँ मोक्ष प्राप्तिकालागि स्नान गर्थ्यौ। पुजा गर्थ्यौ । बन बगैचामा रमाउथ्यौं अहिले त्यहाँ घरहरू बनाइएका छन । घरका पर्खाल भित्र समावेश गरिएका छ्न ।
स्मृतिहरू बाँकी छन् — तर संरचना छैन।
धार्मिकता बाँकी छ — तर वातावरण छैन।
मान्यताको थाँती बाँकी छ — तर त्यसको स्वरूप हराउँदैछ।
अब के गर्ने ? यहाहरुको ईच्छामा निर्भर पर्छ, यहाँहरु फेरि उठ्नुपर्छ, र भन्नुपर्छ –
जनकपुर धाम बचाऔ, पवित्रता जोगाऔं
कुटि-कुण्ड हाम्रो गौरव , हामिले नै रक्षा गरौ ७२ सर,५२ कुटि, आश्रम, मठ- मन्दिर, उद्धानहरु-जनकपुर धामका आत्मा हुन ।
तर सरकरी व्यवास्था , स्थानीय उदासिनता र योजनाको अभावले यो गरिमा माटोमा मिल्दैछ। सम्बन्धित सरोकारबालाहरुको निकम्मापनले यि ७२ सरहरु मध्ये धेरै गुमिसके, कतिपय नक्साबाट नै हराइ सके, बाँच्न पुगेका अधिकँश अतिक्रमणको शिकारमा फोहोर मैला, ढलले भरिएका छन । डम्पिङ साइड बनेका छन , ढल बगिरहेको छ। परम्परागत नाम बिर्सिएको छ। चार पाँच सय वर्ष पुराना कुटिहरु भग्नावशेष बन्दैछ्न। एतिहासिक बगैंचा , फुल-फुलवरी ध्वस्त पारिएका छ्न। धार्मिक धरोहरको नाम मेटिदैछ, इतिहास बिर्सिदैछ। तसर्थ ७२ पवित्र सरहरुको संरक्षण र पुन: जिवनकालागी, ५२ कुटि कुञ्जको उत्खनन , संरक्षण र प्रबर्द्धनकालागी , मठ-मन्दिर उधान, र धर्मशालाको एतिहासिक स्वरुपमा पूननिर्माणकालागी, जनकपुर धामलाई बिश्व धरोहर सूचीमा सुचिकृत गराउन पहलका लागि जनकपुर धाम बासी जाग्नै पर्छ।
” जनकपुर धाम बाँच्ने छ- जब हामी सबै जाग्ने छौ।” अब समाधान बाह्यबाट होइन, *यहाहरुका इच्छाबाट* आउनुपर्छ।
फेरि एक पटक यो सहरका बासिन्दाहरूले उठ्नुपर्छ र भन्नुपर्छ —
“यो हाम्रो धर्मभूमि हो — यसलाई हामी आफैँ जोगाउँछौँ।”
“हामी हाम्रो गंगा सागर लगायत सर, तलाउ , पोखरी कुण्डहरु सफा गर्छौं।”
“हामी ५२ कुटीहरू पुनः जीवन्त बनाउँछौँ।”
“हामी ७२ पोखरीहरूको नक्सा बनाउँछौँ, संरक्षण गर्छौं।” अनि प्रारम्भ गर्नुहोस्
सम्पदा नक्साङ्कन । सम्पूर्ण धार्मिक स्थल, पोखरी, इनार, कुटी र उद्यानहरूको दस्तावेजी नक्सा निर्माण गर्न।
जनचेतना फैलाउनु होस। ‘जनकपुर धाम बाँचाउँ अभियान”, ‘७२ सर संरक्षण यात्रा’, ‘कुटी मठ-मन्दिर दर्शन सप्ताह’ जस्ता अभियानहरू सञ्चालन गर्नुहोस् । हर समुदायले आफ्नो टोलमा भएको सम्पदाको हेरचाह गर्ने अभियान चलाऔ। विद्यालयदेखि कलेजसम्म जनकपुर धामको इतिहास र सम्पदाको शिक्षा अनिवार्य बनाउन दबाब सिर्जना गरौ। नगरपालिकालाई स्पष्ट Master Plan तयार पार्ने, गुठी संस्थान, पुरातत्व विभाग र संस्कृति मन्त्रालयसँग समन्वय गर्न दबाब सिर्जना गरौ।
“यहाहरुको इच्छा ” फेरि लयमा आउनैपर्छ। जनकपुरधामको पुनर्जागरण कसैले बाहिरबाट आएर गरिदिँदैन।
नैतिकता, संस्कार, परम्परा, सम्पदा — सबैको बीउ यहीँ छ। तर अब ती बीउलाई पानी दिन, जोगाउन, हुर्काउन हामी आवश्यक छौं।
यो केवल संस्कृति बचाउने अभियान होइन
*यो भविष्य बचाउने आन्दोलन हो।*
त्यसैले,आज हामी सबै मिलेर भनौ-
“हामीलाई के चाहिन्छ ?” हाम्रो गुम्दै गएको जनकपुर धाम फिर्ता चाहिन्छ।
“हामीले के गर्ने?”
“हाम्रो पोखरी, कुटी, गजुर, इनार, उद्यान, धरोहर, परम्परा सबै जोगाउने।”
“कस्को इच्छा ?” ” यहाहरुको ईच्छा । हाम्रो ईच्छा । जनताको ईच्छ । जनकपुर धाम वासिको ईच्छामा निर्भर गर्दछ। हामी तयार भयौ भने यो अभियान जनकपुर धामलाई केवल एक धार्मिक गन्तव्य होइन, विश्वस्तरिय अध्यात्मिक ,सांस्कृतिक र पर्यटन केन्द्रको रुपमा पुन:स्थापना गर्ने मार्गमा अघि बढने छौ। यसको सफल कार्यान्वयन स्थानीय नागरिक , सरकारी निकाय, गुठि संस्था, अनुसन्धान केन्द्रहरू तथा समर्पित अभियन्ताहरुको एक्यवद्ध प्रयासमा निर्भर रहेको हुँदा हामी सबै आफ-आफ्नो ठाउँबाट यस अभियानमा अग्रसरता लिऔ। अस्तु: