द न्यूज होम
जनकपुरधाम,साउन २५ गते । जनकपुरधामको पौराणिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको ध्यान केन्द्रित गर्न अभियन्ता प्रफुल्लराज घिमिरेले आग्रह गरेका छन् ।

हालै छिमेकी राष्ट्र भारतले सितामढीको पूनौराधाममा जानकी मन्दिरको शिलान्यास गरेको विषयमा जनकपुरधाममा चर्को चर्चा भइरहेका बेला घिमिरेले, ‘आफ्नो जीउको भैंसी नदेख्ने, अरुको जिउको जुम्रा देख्ने प्रवृत्ति’ त्याग्नुपर्ने टिप्पणी गरेका छन् । उनले अरुले धार्मिक र सांस्कृतिक उत्थानका पहल गर्दा आलोचना मात्र गर्ने तर आफ्नै क्षेत्रका अमूल्य सम्पदाहरू नष्ट हुँदै जाँदा मौन बस्ने प्रवृत्ति जगतलाई हाँसोको पात्र बनाउने बताए ।

उनका अनुसार जनकपुरधाम क्षेत्रको सर्वाङ्गीण विकासका लागि ५२ कुटी, ७२ कुण्ड, विभिन्न मठ–मन्दिर, फूलवारी, बगैचा, पोखरी, इनार, नदी लगायतका सम्पूर्ण धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन र उत्खनन अत्यावश्यक छ ।

घिमिरेले आधुनिकताको समिश्रणसहित पौराणिक अध्यात्मिक र सांस्कृतिक पवित्र स्थलको पहिचान पुनः स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ‘यी पुनित कार्यमा लाग्दा मात्र जनकपुरधामको गौरव बढ्ने र समस्त सनातन धर्मावलम्बीको कल्याण हुनेछ,’ उनले भने । साथै, उनले श्री जानकी माताले सबैको मनोकामना पूरा गरून् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।