द न्यूज होम
जनकपुरधाम,साउन २५ गते । जनकपुरधामस्थित थापाचोकदेखि प्रदेश प्रहरी कार्यालयतर्फ जाने बाटोमा आइतबार बिहान रेलगाडीले एउटा कारलाई किचेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुण सिंहका अनुसार, बिहान करिब ८ः४५ बजे कुर्थाबाट जनकपुरधामतर्फ जाँदै गरेको तत्कालका लागि नेपालमा चलाउदै आएको भारतीय रेलगाडीले बागमती प्रदेश ०१–०२५च १२९० नम्बरको टाटा कारलाई रेलवे लाइनमा किचेको हो । घटनामा मानवीय क्षति भने हुन पाएन ।

प्रहरीका अनुसार थापाचोकतर्फबाट गुडिरहेको कार रेलवे लाइनमा अड्किएको थियो । त्यही बेला कुर्थातर्फबाट जनकपुरधाम रेलवे स्टेशनतर्फ आउँदै गरेको रेलगाडीले कारलाई ठक्कर दिँदै करिब २०–२५ मिटरसम्म घिसार्यो । रेलगाडीको अगाडिको भागले चालक बस्ने साइडलाई च्यापेपछि केही समय चालक मृत्युलाई पर्खिरहेको जस्तो अवस्था बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ब्रेक लगाएर रेल रोकिएपछि थोरै ब्याक गरिएपछि चालकले ढोका खोलेर टाउको समाउँदै अस्पतालतर्फ दौडेका थिए । कारमा तीन जना सवार रहेको र तीमध्ये एक जना जनकपुरको हिरा अस्पतालमा कार्यरत चिकित्सक रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । कारमा व्यापक क्षति भए पनि तीनै जना सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ ।