द न्यूज होम
जनकपुरधाम,साउन २५ गते । जनमत पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष जनमत पाटीबाट भरखरै निष्काशित दिपक कुमार साहले पार्टी अध्यक्ष सीके राउतको अविलम्ब राजीनामा माग गरेका छन् । उनले अध्यक्षमाथि पार्टीलाई निजी सम्पत्ति बनाउने, पारिवारिक पार्टीमा रूपान्तरण गर्ने तथा भ्रष्टाचारको अवसर सिर्जना गर्ने रणनीति अपनाएको आरोप लगाएका छन् ।

उनका अनुसार हालको अवस्था “सैतानी प्रवृत्ति“ बुझ्ने समय आएको हो । “यदि सबै सचेत कर्मवीर स्वराजीहरूले यस्तै अवस्थामा राजीनामा दिन थाले भने मधेश र समाज अझ संकटमा पर्छ,“ उनले चेतावनी दिएका छन् ।

पूर्व उपाध्यक्षले स्वराजीहरूलाई व्यक्तिगत रिसीवी र मनोमानी हिसाबले कारबाहीको नाममा भय सिर्जना गरी पार्टी कब्जा गर्ने षड्यन्त्रबाट सचेत रहन आग्रह गरे । उनका अनुसार पार्टी निर्माणका लागि दशकौँको परिश्रम, ठूलो आर्थिक खर्च, भोगाइ र बलिदानी सहजै त्याग्नु हुँदैन ।

“लोकतान्त्रिक पार्टी हामीले निर्माण गरेका हौं । त्यसैले लोकतान्त्रिक विधि अपनाएर मात्र कारबाही हुने र कस्तो कारबाही हुने भन्ने प्रक्रियालाई मान्यता दिनुपर्छ,” उनले भने । साथै, स्वराजीहरूको बहुमतको आधारमा मात्रै कारबाही प्रक्रिया पूर्णता पाउनु पर्ने माग पनि दोहोर्याए ।

उनले यस्तो “दुष्ट भावनाको प्रवृत्ति“ भएको अध्यक्ष पार्टीका लागि चाहिँदैन भन्दै तत्काल पदत्याग गर्न दबाब दिएका छन् ।