द न्यूज होम
जनकपुरधाम,साउन २८ गते । पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रहिसकेका अनिल कुमार झाले नेपाल सदभावना पार्टीको नेतृत्व सम्हाल्ने भएका छन् । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै झाले आफ्नो मातृ पार्टीको नेतृत्व पुनः ग्रहण गरेका हुन् ।

यसअघि विभिन्न ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि नेपाल सदभावना पार्टीको नेतृत्व रामकुमार महतोको हातमा गएको थियो । तर राजपाको टुटफुटपछि झाले पुनः पार्टी सञ्चालन गर्ने तयारी गरेका थिए । यसै क्रममा महतोले आयोगमा नेतृत्वको आधिकारसम्बन्धी मुद्दा दायर गरेका थिए ।

प्राप्त जानकारी अनुसार गत मंसिरमा जनकपुरधाममा सम्पन्न पार्टी महाधिवेशनको निर्णयअनुसार, ९१ प्रतिनिधिमध्ये ६० जनाले आयोगमै पुगेर झालेको पक्षमा हस्ताक्षर गरेका थिए । पञ्जा छापसहितको पार्टीमा आधिकारिकता मिलिसकेपछि आयोगले झा नेतृत्वको समितिलाई मान्यता दिएको हो ।

मंगलबार सामाजिक सञ्जालमार्फत झाले नेपाल सदभावना पार्टीमा फर्किनुलाई आफ्नो राजनीतिक यात्राको कोर्स करेक्सन भएको बताएका छन् । लोसपाबाट राजीनामा दिएका झाले नेतृत्वको घोषणा गरिसके पनि पार्टीको औपचारिक सुरुवात कहिले गर्ने भन्नेबारे भने घोषणा गर्न बाँकी छ ।