द न्यूज होम
जनकपुरधाम, भदौ ३ गते। जनकपुर न्यूरो अस्पतालमा उपचारका क्रममा तीन बिरामीको मृत्यु भएको घटनापछि पीडित परिवार आन्दोलित भएका छन्। उनीहरूले अस्पताल प्रशासनलाई ‘लापरबाही र पैसा कमाउने धन्दा’ मा संलग्न रहेको आरोप लगाउँदै औपचारिक उजुरी दिने तयारी गरेका छन्।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मृतक आयुष साहका पिता शम्भु साहले आफ्ना छोराको मृत्युका लागि न्यूरो अस्पताल जिम्मेवार भएको दाबी गरे। उनका अनुसार मोटरसाइकल दुर्घटनामा सामान्य घाइते भएका छोरालाई जबर्जस्ती न्यूरो अस्पताल पुर्‍याइयो र अनावश्यक शल्यक्रियाले अवस्था झन् बिग्रियो।

साहले भने, “अस्पतालले ८० प्रतिशत अवस्था ठिक रहेको भन्दै लाखौं खर्च भए पनि छोरालाई बचाइन्छ भनेको थियो। तर, नशाको सुई लगाएर टाउको खोलेपछि अवस्था बिगारियो। दुई महिनासम्म ढुक्क पारेर राखेपछि मात्र रेफर गरियो, त्यो बेला छोराको ज्यान बचाउन नसक्ने अवस्थामा पुगेको रहेछ।”

यस्तै, सोही दुर्घटनामा घाइते महेश यादवको पनि न्यूरो अस्पतालमै मृत्यु भएको परिवारको दाबी छ। खुटामा मात्रै चोट लागेका यादवलाई समेत अनुचित उपचार गरिएको उनीहरूको आरोप छ।

त्यसैगरी अर्को दुर्घटनामा घाइते रन्जित रामकी पत्नीले पनि श्रीमानको मृत्युमा न्यूरो अस्पतालकै लापरबाही जिम्मेवार रहेको बताइन्। उनका अनुसार, सुरुमा सामान्य उपचार भए पनि पछि अनावश्यक शल्यक्रिया गरेर एक महिनासम्म राख्दा १६ लाख रुपैयाँ खर्च भयो। अन्ततः अवस्था बिग्रिएपछि काठमाण्डु रेफर गरिए पनि जीवन बचाउन सकिएन।

परिवारका अनुसार न्यूरो अस्पतालले पैसा कमाउने नाममा बिरामीको ज्यान खेलेको हुँदा अस्पताल बन्द गर्नुपर्ने आवश्यकता छ। उनीहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा औपचारिक उजुरी दिने तयारी समेत गरेका छन्।