द न्यूज होम
रौतहट, भदौ ३ गते । फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचारबारे समाचार लेख्ने पत्रकारमाथि दुव्र्यवहार गर्ने आरोपमा उपमेयर (कार्यवाहक मेयर) अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।

इलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा अदालतले सोमबार पक्राउ आदेश दिएको प्रहरी इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिए । पत्रकार कृष्ण तिवारीमाथि साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाने क्रममा सन्तपुर चौक नजिकै रोकेर सनाउल्लाहले दुव्र्यवहार गरेका थिए ।

पीडित तिवारीले जाहेरी दिएपछि रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीको निर्देशनमा घटनाको अनुसन्धान गरी आइतबार नै सनाउल्लाहमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । हाल उनलाई खोजतलास गरी पक्राउ गर्न छुट्टै प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकामा इन्धन र यातायात खर्चमा अनियमितता भएको प्रस्ट्याएको थियो । सो प्रतिवेदनकै आधारमा पत्रकार तिवारीले समाचार लेखेका थिए । तर समाचार सार्वजनिक भएपछि उपमेयर खातुनका छोराले पत्रकारमाथि दुव्र्यवहार गरेको चौतर्फी आरोप लागेको छ ।

२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका थिए । तर मेयर यादव विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहरिएपछि खातुन कार्यवाहक बनेकी थिइन् । त्यसयता नगरपालिकामा उनका श्रीमान् महमद सेराज र छोरा सनाउल्लाहको हस्तक्षेप बढेको भन्दै जनप्रतिनिधिहरू स्वयं असन्तुष्ट हुँदै आएका छन् ।