द न्यूज होम
जनकपुरधाम,भादो ६ गते । संगठन विस्तारदेखि संघीय मोर्चासम्मको कार्यनीति तय गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, मधेश प्रदेश कार्यकारिणी समितिको बैठक आज जनकपुरधाममा बसेको छ ।

लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकमा पाँचवटा एजेण्डामाथि विस्तृत छलफल हुने जानकारी प्राप्त भएको छ ।

बैठकमा संगठन विस्तार, संगठन सुदृढीकरण, वडा–पालिका हुँदै जिल्ला स्तरसम्मको अधिवेशनको तयारीबारे छलफल भइरहेको छ । साथै, मधेश प्रदेश सरकारको वर्तमान अवस्था र आगामी कार्यनीतिबारे समेत गहन बहस हुने जनाइएको छ ।

त्यसैगरी, मुलुकको वर्तमान राजनीतिक परिस्थिति र सम्भावित संघीय मोर्चासम्बन्धी विषयलाई पनि बैठकले प्राथमिकताका साथ छलफलमा राखेको छ ।

बैठक आजै सकिने र छलफलबाट बनेका निष्कर्ष तथा निर्णयहरू पनि आजै सार्वजनिक गरिने बुझिएको छ ।