द न्यूज होम
वीरगञ्ज, भदौ ७ गते । वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पतालको समन्वयमा शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिएको छ ।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार मुर्ली टोलका ३० भन्दा बढी व्यक्ति एकैपटक झाडापखालाको समस्या लिएर वीरगञ्जको तराई अस्पताल पुगेपछि परीक्षण गरिएको हो । नारायणी अस्पताल र स्वास्थ्य कार्यालय पर्साले गरेको जाँचमा १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहका अनुसार सङ्क्रमितमध्ये एक किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। यस्तै, मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएको छ ।

स्वास्थ्यकर्मीहरूले शुक्रबार रातिदेखि नै प्रभावित क्षेत्रमा घरघरमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार वीरगञ्जमा करिब १० वर्षपछि हैजाको प्रकोप देखिएको हो ।

महानगर प्रमुख सिंहले हैजा गम्भीर सङ्क्रामक रोग भएकाले कुनै पनि प्रकारको लापर्वाही नगर्न आग्रह गरेका छन् । नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले आकस्मिक कक्षमा पनि झाडापखालाका गम्भीर बिरामी उपचाररत रहेको बताए । उनले सबैलाई आत्तिनु नपर्ने तर पिउने पानी उमालेर वा निर्मलीकरण गरेर मात्रै सेवन गर्न आग्रह गरे ।