द न्यूज होम
रौतहट,भादो ११ गते । रौतहटकी २६ वर्षीया रुबी साहको हत्या आरोपित लक्ष्मण पासवानले आफूले नै हत्या गरेको स्वीकार गरेका छन् । उनले हत्या अघि रुवीसँगको प्रेमसम्बन्ध, पारिवारिक तनाव र आत्मग्लानीबारे सामाजिक सञ्जालमा भिडियोमार्फत खुलेर बताएका छन् ।

पासवानले भिडियोमा रुबीसँग स्कुलदेखि नै सम्बन्ध रहेको, अदालतमा गएर विवाहसमेत गरेको उल्लेख गरेका छन् । तर आर्थिक अभाव र पारिवारिक दबाबका कारण सम्बन्धमा तनाव बढ्दै गएको उनले बताएका छन् । रुबीको हत्या गर्ने अघिल्लो क्षणसम्म पनि उनीहरूबीच ‘एकअर्का बिना बाँच्न नसक्ने’ संवाद भएको उनले खुलाएका छन् ।

‘मैले भनेँ, मलाई मार । उनले भनिन्, मलाई मारिदेऊ । त्यसपछि मैले गल्ती गरेँ,’ भिडियोमा पासवानले भनेका छन् ।

गत शनिबार राति गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ स्थित मुडवालगेट नजिकैको सडकमा बेवारिसे सुटकेसभित्र रुबीको शव फेला परेको थियो । गौरमा डेरा लिएर चार वर्षीया छोरालाई पढाउँदै आएकी रुबी मूल घर भारतको मुजफ्फरपुर र माइत रौतहटको माधवपुर रहेको खुलेको छ ।

प्रहरी अनुसन्धान अनुसार गौरकै एक घरमा रुबीको हत्या गरी शवलाई रिकसामा राखेर फालिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणी गिरीका अनुसार घटनापछि फरार रहेका पासवान सोमबार बिहान माधवनारायण नगरपालिका–६ स्थित नहर अगाडि आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते अवस्थामा फेला परेका छन् । तत्काल नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।