द न्यूज होम
जनकपुरधाम,भदो १४ गते । मा दुर्गा पूजा व्यवस्थापन समितिका अध्यक्ष तथा जनकपुरधाम उपमहानगरपालिका–४ का वडा सदस्य प्रसन्न कुमार झाले जिल्ला प्रहरी धनुषाले आफूलाई अपराधी सावित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले विगतदेखि नै सामाजिक, धार्मिक र राजनीतिक जीवन निर्वाह गर्दै आएको व्यक्तिलाई निराधार आरोपमा फसाउन खोजिएको दाबी गरे । “मैले कानुनी सबै प्रक्रिया पूरा गरी समितिको दर्ता गराउन कागजात जिल्ला प्रशासन कार्यालयमा बुझाएको छु । तर, जिल्ला प्रहरी कार्यालयले मेरो चालचलनमा अपराधी देखाएको छ, यो अन्याय हो,” उनले भने ।

झाले २०५८ सालमा महोत्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा झूटो रुपमा फसाइएर आफूले १० वर्ष जेल बस्नुपरेको स्मरण गराए । उनले भने, “त्यो मुद्दा निराधार थियो, म निर्दोष थिएँ र आज पनि छु । मलाई फेरि राजनीतिक प्रतिशोधका आधारमा फसाउने प्रयास भइरहेको छ ।”

उनले आफू २०८४ सालको स्थानीय चुनावमा वडा अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेको जानकारी दिँदै “केही राजनीतिक दलका व्यक्तिहरु र स्थानीय संस्थाका पदाधिकारीहरूले प्रहरी प्रशासनको माध्यमबाट धार्मिक कार्य र राजनीतिक गतिविधिमा रोक लगाउन खोजेका हुन्” भन्ने आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भदौ १३ गते प्रशासन कार्यालयलाई पठाएको पत्रमा झाको नाम २०५८ सालको कर्तव्य ज्यान मुद्दामा परेको भन्दै उनको चालचलनमा टिप्पणी गरेको थियो । तर, झाले २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित भएर निर्वाचन आयोगबाट प्रमाणपत्र समेत प्राप्त गरेको प्रष्ट पारे ।

पत्रकार सम्मेलनमा सहभागी स्थानीय बासिन्दाहरूले विद्यापति ट्रस्टका केही पदाधिकारीले दुर्गा पूजामा आफ्नो पकड जमाउन कानुनी दाउपेच अपनाएर झाले अध्यक्ष पद गुमाउने षड्यन्त्र गरेको आरोपसमेत लगाएका थिए ।

झा हाल विद्यापति ट्रस्टका कोषाध्यक्षसमेत रहेका छन् । उनका अनुसार, जनकपुरधाम–४ को मुरलीसर विद्यापति चौकमा विगत ४५ वर्षदेखि दुर्गा पूजाको आयोजना हुँदै आएको छ ।