द न्यूज होम
जनकपुरधाम,जेठ २ गते । तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता २०२५ मा लखनउले बारालाई ८ विकेटले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको छ । टस जितेर पहिला बलिङ रोजेको लखनउले बारालाई निर्धारित २० ओभरमा १६८ रनमै रोक्न सफल भएको थियो ।

बाराको ब्याटिङमा रवि साहले सर्वाधिक ५४ रन बनाए भने अदिल अन्सारीले आक्रामक ५० रनको योगदान दिए । अदिलले २१ बलमा चार चौका र तीन छक्कासहितको विस्फोटक इनिङ खेलेका थिए । अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । लखनउका तर्फबाट मनिश सिंह र सुभम यादवले दुई–दुई विकेट लिए भने शैलेन्द्र सिंह र अश्मित मिश्रले एक–एक विकेट लिए ।

१६९ रनको चुनौतीपूर्ण लक्ष्य लिएर मैदान उत्रेको लखनउको सुरुआती जोडीले नै खेलको नक्शा पल्टाइदियो । हर्षित यादवले ३ छक्का र १२ चौकाको सहयोगमा नटआउट ९८ रनको उत्कृष्ट इनिङ खेलेका छन् । अर्का ओपनर सुमित पाठकले पनि ३ छक्का र ३ चौकासहित ५३ रन बनाए । दुवै ब्याट्सम्यानको सशक्त प्रदर्शनले लखनउलाई सजिलै जित दिलाएको छ ।

बलिङतर्फ बाराका सहाव आलम र पवन सर्राफले १–१ विकेट लिए । खेलका ‘प्लेयर अफ द म्याच’ लखनउका हर्षित यादव घोषित भए, जसको धमाकेदार ब्याटिङले उपाधि जित्न निर्णायक भूमिका खेलेको हो ।